सप्तरीका तीन पालिकामा शीतलहरका कारण तीन दिनका लागि विद्यालय बन्द
सप्तरी — बढ्दो शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराज, महादेवा र अग्निसाइर कृष्णासवरण पालिकाले पुस १६–१८ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाभरिका विद्यालय तीन दिनका लागि बिदा दिइएको छ। महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै बिदा घोषणा गरेका छन्। अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि पालिकाभरिका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको सूचना जारी गरेको छ।
यसअघि डाक्नेश्वरी, राजगढ र बोदेवरसाइन नगरपालिकाले पनि जाडोका कारण विद्यालय बन्द गरिसकेका छन्।
सप्तरीमा बिहान–बेलुका हुस्सु लाग्ने, दिउँसो चिसो हावा चल्ने भएकाले बालबालिका, वृद्ध तथा पशु चौपाया प्रभावित भएका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रुघाखोकी, ज्वरो र दमका बिरामीको चाप बढेको छ।