खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, कात्तिकमा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित
२९ मंसिर, काठमाडौं— खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा समग्र मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले घटेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो। त्यसबेला खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.६५ प्रतिशत थियो।
पछिल्लो चार महिनाको औसत मूल्यवृद्धि १.५३ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा औसत मूल्यवृद्धि ४.५० प्रतिशत थियो।
तरकारीको मूल्यमा सबैभन्दा ठूलो गिरावट
राष्ट्र बैंकका अनुसार यस वर्ष तरकारीको मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशतले घटेको छ। त्यसैगरी मरमसलाको मूल्य ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको छ।
यद्यपि घिउ तथा तेल पदार्थको मूल्य ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत तथा दुग्ध तथा अन्डाको मूल्य १.९७ प्रतिशतले बढेको छ।
गैरखाद्यतर्फ विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशतले वृद्धि भएको छ। शिक्षा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९ प्रतिशत तथा सुर्तीजन्य वस्तुको मूल्य ४.८४ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उपसमूहको मूल्य सूचकांक भने ०.२३ प्रतिशतले घटेको छ।
क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मूल्यवृद्धि १.२६ प्रतिशत हुँदा ग्रामीण भेगमा ०.६६ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशीमा १.८० प्रतिशत, मधेशमा १.७३ प्रतिशत, बागमतीमा ०.८१ प्रतिशत, गण्डकीमा ०.३७ प्रतिशत, लुम्बिनीमा १.२७ प्रतिशत, कर्णालीमा १.०८ प्रतिशत र सुदूरपश्चिममा ०.२६ प्रतिशत मुद्रास्फीति रहेको छ।
त्यसैगरी काठमाडौं उपत्यकामा १.१६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत मूल्यवृद्धि भएको देखिएको छ।