११ महिनामा त्रिभुवन विमानस्थलबाट ७८ लाखभन्दा बढी यात्रु ओहोरदोहोर
१३ पुस, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ को जनवरी–नोभेम्बर अवधिमा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार तीमध्ये ४० लाख ९८ हजार ५ सय ४९ अन्तर्राष्ट्रिय र ३७ लाख १८ हजार ८ सय आन्तरिक यात्रु रहेका छन्।
अन्तर्राष्ट्रियतर्फ २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् भने २० लाख ३ हजार ६ सय ७२ नेपाल आएका छन्। आन्तरिकतर्फ १९ लाख ३६ हजार ४ सय २६ यात्रु प्रस्थान र १७ लाख ८२ हजार ३ सय ७४ आगमन भएका छन्।
यो अवधिमा अन्तर्राष्ट्रिय उडान १४ हजारभन्दा बढी र आन्तरिक उडान ४२ हजारभन्दा बढी भएका छन्। कार्गोतर्फ अन्तर्राष्ट्रिय रूपमा २ करोड २५ लाख केजीभन्दा बढी सामान ओसारपसार भएको छ।
प्राधिकरणका अनुसार वार्षिक करिब ८० लाख यात्रु क्षमता रहेको त्रिभुवन विमानस्थलले क्षमताभन्दा बढी यात्रु व्यवस्थापन गरिरहेको छ। यात्रु चाप काठमाडौंमै केन्द्रित रहँदा भैरहवा र पोखरा विमानस्थलमा भने अन्तर्राष्ट्रिय उडानको चाप न्यून रहेको छ।