कर्णालीका दुर्गम भेगमा नेपाल टेलिकमका ८६ टावर विस्तार
जुम्ला — ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्क सुदृढीकरण गर्ने र दुर्गम बस्तीमा सञ्चार सेवा पु¥याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम जिल्लामा टेलिफोन टावर विस्तार गरेको छ।
नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्रअन्तर्गत जुम्ला, कालीकोट र मुगु जिल्लामा गरी ८६ वटा टावर विस्तार गरिएको शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए। उनका अनुसार कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर निर्माण तथा विस्तार गरिएको हो।
कार्यालय प्रमुख पुजाराले जुम्लाको हिमा गाउँपालिकामा हालै नेपाल टेलिकमको टावर निर्माण भई सेवा सञ्चालनमा आएको बताए। उनले भने, “लामो समयदेखि टेलिफोन टावर नहुँदा हिमा गाउँपालिकाका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित थिए, अब सेवा सुचारु भएको छ।”
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
हाल नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा जुम्ला सदरमुकाम खलङ्गामा मात्र सीमित रहेको छ। जिल्लाका आठवटै स्थानीय तहसम्म फाइबर सेवा विस्तार गर्ने काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ।
नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णाली प्रदेशका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार भइसकेको छ।