पूर्वराजालाई ‘भान्जा’ ठग्ने आरोपी पुनः पक्राउ
काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहको नाम प्रयोग गरी ठगी गर्ने अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, सिंहलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो।
सिंह काठमाडौँ महानगरपालिका–२७, असन घर भएका र ललितपुर बसोबास गर्ने हुन्। पक्राउको समयमा उनी भारत भाग्दै गरेको अवस्थामा थिए। उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन्।
एसपी आचार्यका अनुसार, सिंहले बेलायतमा पूर्व राजपरिवारको लगानीमा सञ्चालन हुने ‘ड्रिमल्याण्ड’ नामक होटलको भ्रम देखाएर सिन्धुली घ्याङलेकका ५० भन्दा बढी व्यक्तिलाई ठगेको आरोप छ। आफूलाई मनोज कुमार नामबाट चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए। जेलबाट रिहा भएपछि उनले पुनः ठगी सुरु गरेको पुष्टि भएको छ।
हाल प्रहरीले सिंह र उनका सहयोगी श्रेष्ठविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। अहिलेसम्म ४२ जना पीडितले जाहेरी दिएका छन् भने ठगी रकम करिब ४ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ। प्रहरीले सिंहको काठमाडौँको ज्ञानेश्वरमा सञ्चालन भएको कार्यालयबाट सरकारी छाप र बेलायतको नक्कली भिसा पनि बरामद गरेको छ।