ठमेलस्थित वाल्डो क्यासिनो अध्यक्ष पक्राउ, डमी खेलाडी प्रयोग गरेर ठगीको अनुसन्धान
काठमाडौँ। ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष, चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार च्यानमाथि क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान भइरहेको छ। अध्यक्षलाई शुक्रबार पक्राउ गरिएको थियो।
प्रारम्भिक अनुसन्धानले सो क्यासिनामा ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको देखाएको छ। यसअघि मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजनसहित ६ जनालाई पनि पक्राउ गरिएको थियो।