छ महिनादेखि बन्द रसुवागढी नाका आजदेखि खुल्यो
रसुवा। छ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि आवतजावतका लागि खुलिएको छ। आज बिहान ७ः० बजे नेपाली ट्रक चालकहरूले केरूङतर्फ यात्रा सुरु गरेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज तयार भएको छ र यही पुस १७ गतेदेखि नाका खोल्ने सूचना सीमा क्षेत्रका चिनियाँ समकक्षीबाट पठाइएको हो।
गत असार २४ गतेदेखि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर र व्यवसायीका प्रतिनिधिहरू पनि नेपाल फर्किसकेको प्रहरी निरीक्षक विक्रम कुँवरले बताए।
ल्हेन्देखोला बाढीका कारण असारदेखि व्यापार रोकिएको थियो। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइका अनुसार यस अवधिमा भन्सार शुल्कबापत करिब २० अर्ब रुपैयाँको राजस्व नोक्सान भएको छ।
बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुर्याएको र रसुवागढी–स्याफ्रुबेँसी सडक १६ किमी क्षेत्रमा विभिन्न स्थानमा कटान भएको थियो।