सरकार सुशासन र सेवा प्रवाह सुदृढीकरणमा केन्द्रित छ : गृहमन्त्री अर्याल
१५ पुस, विराटनगर — गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन्।
मंगलबार मोरङको विराटनगर पुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढ बनाउनुपर्ने मूल मान्यताका आधारमा सरकारले काम गरिरहेको उल्लेख गरे। उनी बुधबार आयोजना हुने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका हुन्।
मोरङको बुधनगरमा सन् २०२० देखि सञ्चालनमा रहेको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले हालको सरकारको अर्को प्रमुख कार्यभार शान्ति सुरक्षा सुनिश्चित गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए।
शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने उल्लेख गर्दै उनले हाल गृह प्रशासन शान्ति सुरक्षा मजबुत बनाउन केन्द्रित रहेको जानकारी दिए।
एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको उक्त एकीकृत भन्सार जाँच चौकीमा छुट्टै सुरक्षा फौज आवश्यक रहेको विषयमा सरकारको ध्यानाकर्षण भइसकेको बताउँदै उनले यसका लागि गृह मन्त्रालयले अन्तर–मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
यसैबीच गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मोरङको भवन पुनःमर्मतपछि सञ्चालनमा आएको अवलोकन समेत गरेका छन्।