तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
२२ मंसिर, काठमाडौं । तीनकुनेमा १५ चैत २०८१ मा भएको घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यका तर्फबाट औपचारिक रूपमा शहीद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार तीनकुनेमा प्रदर्शनको क्रममा ज्यान गुमाएका रजकको बलिदानको सम्मानस्वरूप सरकारले यो निर्णय गरेको हो। मन्त्री खरेलले रजकको परिवारलाई आवश्यक सहानुभूति, राहत तथा सम्मानका कार्यक्रम सरकारले अघि बढाउने तयारीसमेत रहेको जानकारी दिए।
पत्रकार रजकको निधनपछि सञ्चारकर्मी तथा नागरिक समाजले दोषी पहिचान र कारबाहीका साथै सरकारसँग शहीद घोषणा गर्न माग गर्दै आएका थिए।