पम्फा भुसालले आगामी निर्वाचन नलड्ने घोषणा
१३ पुस, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीकी नेता पम्फा भुसालले आगामी फागुन २१ गते हुने निर्वाचन नलड्ने घोषणा गरेकी छन्। उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले आफूले दुई पटक प्रत्यक्ष निर्वाचन जितेर मन्त्रीसमेत भइसकेको उल्लेख गर्दै अब आफ्नो राजनीतिक अनुभव पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्ने बताएकी छन्।
उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेकी छन्। तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने भुसाल एक्ली महिला नेता हुन्। २०७९ को निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकी तोसिमा कार्कीसँग पराजित भएकी थिइन्।