मकवानपुरमा ३० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिमखेती नष्ट
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा लगाइएको गाँजा तथा अफिमखेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करिब ३० बिघा क्षेत्रफलमा फैलिएको अवैध खेती फडानी गरी नष्ट गरिएको हो।
प्रहरी प्रवक्ता पुष्कर बोगटीले दिएको जानकारी अनुसार अभियान सञ्चालन गरी २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिमखेती नष्ट गरिएको छ।
अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा लगाइएको गाँजा र अफिमखेती फडानी गरिएको हो।
गाँजा तथा अफिमखेती नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरी प्रवक्ता बोगटीले जानकारी दिएका छन्।