देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दल संख्या ११४ पुग्यो
काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या ११४ पुगेको छ। गत २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएकाले यसपटक दलहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। दल संख्या बढेकै कारण निर्वाचनमा प्रतिस्पर्धा पनि बढ्ने आयोगको अनुमान रहेको उनले बताए।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री आयोगले पहिचान गरिसकेको छ। तीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ प्रकारका सामग्री आयोगले केन्द्रबाट खरिद गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ।
मतपेटिका र मसी पर्याप्त मौज्दातमा रहेकाले ती सामग्री खरिद गर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट गरे। पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायत सामग्री नपुग भए मात्र खरिद गरिने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।
मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते तयार हुने जानकारी दिँदै उनले हालसम्म मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको बताए। साथै, निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकिएको र मुलुकभर निर्वाचनको वातावरण सुनिश्चित गर्न सुरक्षा निकाय तथा सरकारसँग निरन्तर समन्वय र परामर्श भइरहेको उनले जानकारी दिए।