पोखरा सडक महोत्सवको २७औँ संस्करण पुस १३ देखि सुरु हुने
काठमाडौं । पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ गतेदेखि सुरु हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने जानकारी गराएका हुन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा करिब साढे ३ किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गरिनेछ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवले खाना, संस्कृति र संगीतको प्रवर्द्धनमा मुख्य भूमिका खेल्ने संयोजक वसन्त गौतमले बताए।
महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको अनुभूति गराउने उल्लेख गर्दै उनले पोखरा प्राकृतिक र सांस्कृतिक रूपमा खुला संग्रहालय भएको बताए। साथै, सडक महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।