गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटना, घाइते चालकको उपचारका क्रममा मृत्यु
काठमाडौं, — बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटार चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ निवासी २५ वर्षीय अवी श्रेष्ठ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार आज बिहान चक्रपथबाट हातिगौँडा चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत्को खम्बामा ठोक्किँदा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।