टुकुचा खोलाको पानी प्रशोधन गरी वाग्मतीमा मिसाउने डेढ करोड लिटर क्षमताको केन्द्र निर्माणाधीन
काठमाडौंको मध्य भाग हुँदै बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मती नदीमा मिसाउने उद्देश्यले दैनिक डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको प्रशोधन केन्द्र निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। त्रिपुरेश्वर–कुपण्डोल दोभानस्थित २.५३ हेक्टर क्षेत्रमा निर्माण भइरहेको यो केन्द्र एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋणमा सञ्चालित वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनाअन्तर्गत अघि बढाइएको हो। परियोजनाको कुल लागत रु ३ अर्ब १८ करोड रहेको छ।
आगामी मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रशोधन केन्द्रबाट टुकुचा खोलाको प्रवाह पथान्तरण गरी प्रशोधन गरिएको पानी वाग्मतीमा प्रवेश गराइनेछ। प्रशोधन प्रक्रियाबाट सहउत्पादनको रूपमा करिब ८०० किलोवाट विद्युत् उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ।
हाल त्रिपुरेश्वरतर्फका ढल प्रशोधन संरचनाको निर्माण तीव्र भइरहेको भए पनि ललितपुरतर्फ भने स्थानीय अवरोधका कारण काम रोकिएको छ। ललितपुर क्षेत्रमा विद्युत् उत्पादनका संरचना मात्र रहनेछन्, भने मुख्य प्रशोधन संरचना त्रिपुरेश्वरमै निर्माण भइरहेको छ।
मन्त्री घिसिङले सोमबार निर्माणस्थल निरीक्षण गर्दै आयोजनाको प्रगति, चुनौती र आवश्यक नीतिगत निर्णयबारे आयोजना व्यवस्थापन टोली, परामर्शदाता तथा निर्माण व्यवसायीसँग छलफल गरेका थिए। उनले वाग्मती सफाइलाई सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै सहायक खोलाको व्यवस्थापनमार्फत नदीलाई पुनर्जीवित गर्न काम भइरहेको बताए।
निर्माण व्यवसायीहरूले तोकिएको समयमै त्रिपुरेश्वर पक्षका संरचना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।