सभामुख घिमिरे र उपसभामुख राना कार्यकाल सकेर बिदा हुँदै
१३ पुस, काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन्। सभामुख घिमिरेले सरकारी निवाससमेत छोड्ने तयारी गरेको उनका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए।
संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रक्रियागत अप्ठ्यारो नहोस् भनेर सभामुख घिमिरेले सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको अधिकारीले बताए। उनका अनुसार घिमिरे अब कार्यालय नजाने र निजी बसोबासको व्यवस्था गरिसकेका छन्।
संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएकाले यसअनुसार सभामुख र उपसभामुखको कार्यकाल आज राति १२ बजेदेखि सकिएको हो।