नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा वृद्धि
नेपालगञ्ज। चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म २५ करोड २६ हजार रुपैयाँ बराबरको आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएको छ।
यो निर्यात रकम गत वर्षको सोही अवधिसँग तुलना गर्दा १० करोड रुपैयाँभन्दा बढीले वृद्धि हो। गत आवको सोही अवधिमा जडीबुटी निर्यात १४ करोड ६२ लाख ७९ हजार रुपैयाँ मात्र रहेको थियो।
नेपालगञ्ज नाकाबाट विशेषगरी टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला लगायतका जडीबुटी निर्यात हुने गरेको छ। जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार ८५ प्रतिशत जडीबुटी भारतमा निर्यात हुन्छ।
उहाँले हिमाली जिल्लाबाट जडीबुटी सङ्कलनका लागि इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट, साना व्यवसायीका लागि ओसारपसारमा समस्या, र क्वारेन्टाइनमा प्लान्ट सूचीकृत नहुँदा विदेश निर्यातमा कठिनाइ हुने समस्यालाई पनि औँल्याउनुभयो।