जेनजी आन्दोलन भड्काउने आरोपमा तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता
काठमाडौं, २३ मंसिर । जेनजी आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ। करिब तीन महिनाको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा तेन्जिनविरुद्ध लागुऔषध र लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
पक्राउ परेका तेन्जिनको कोठाबाट गाँजा बरामद भएको र नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र कीर्ते भएको पाइएको प्रहरीले जनाएको छ। उनी न्यायाधीश तेजबहादुर खड्को इजलासमा पेश भएका छन्। बयान सकिएपछि थुनामा पठाउने वा साधारण तारेख/धरौटीमा रिहा हुने निर्णय हुने जनाइएको छ। तीन महिनाको अनुसन्धानमा टीओबी समूहको फ्री तिब्बतसँग कुनै सम्बन्ध नरहेको प्रष्ट भएको प्रहरीले जनाएको छ। यसअघि तेन्जिनविरुद्ध अभद्र व्यवहारको मुद्दा पनि दायर भइसकेको थियो।