नेकपा पुस ५ भित्र केन्द्रदेखि प्रदेशसम्मको एकता टुङ्ग्याउने तयारीमा
काठमाडौं, २२ मंसिर – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेशसम्मको एकता प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ। आइतबार पेरिसडाँडामा आयोजित बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा तयारी बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसबारे जानकारी गराएका छन्।
नेता हिमाल शर्माका अनुसार, “पुस ५ गतेसम्म हामीले प्रदेश र जिल्लासम्म एकता टुङ्ग्याउने छौँ। कसैले पनि मनचित्त सानो बनाउनु पर्दैन। योग्यता र क्षमताको आधारमा नेताहरूलाई जिम्मेवारी दिइनेछ।” सहसंयोजक माधव नेपालले पनि कुनै पूर्वाग्रह नराखी एकता प्रक्रिया टुङ्ग्याउने बताए। बैठकमा दुवै नेताले पछिल्लो राजनीतिक अवस्था र वामपन्थी घटकबीच एकताको आवश्यकताबारे छलफल गरेका थिए।
गत कात्तिक १९ गते भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी घटक मिलेर नेकपा घोषणा गरेका थिए। सो सभाबाट प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजकमा चयन भएका थिए, तर एक महिना बितिसक्दा पनि केन्द्रीय समिति गठन र नेताहरूको कार्य विभाजन पूरा हुन सकेको छैन।
बैठकले बागमती, समन्वय सम्पर्क र विशेष प्रदेशको एकता सन्देश सभा पुस ५ गते आयोजना गर्ने निर्णय गरेको छ। तीन प्रदेश, जनवर्गीय संगठन, पेसागत तथा जातीय मोर्चाबाट एक लाख मानिसको सहभागिता हुने अनुमान गरिएको छ। नेकपाले त्यस दिन भृकुटीमण्डपमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति पनि लिइसकेको छ।
यसअघि मंसिर १२ गते सुदूरपश्चिम प्रदेशबाट सुरु भएको एकता सन्देश सभा लुम्बिनी, गण्डकी, कोशी, मधेस र प्रवासमा सम्पन्न भइसकेको छ। मंसिर २७ गते कर्णाली प्रदेशमा अर्को सन्देश सभा आयोजना हुँदैछ।