ऐतिहासिक उपलब्धि हासिल गरेका कृष्णप्रसाद अधिकारी केन्द्रिय सदस्यको चर्चामा: गण्डकीको राजनीतिमा हलचल
नेकपा एमालेका अनुभवी र जुझारु नेता कृष्णप्रसाद अधिकारीले पार्टीको आगामी ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेपछि लमजुङ, गण्डकी प्रदेश र काठमाडौंसम्मको राजनीतिक वृत्तमा उनको चर्चा व्यापक रूपमा चुलिएको छ। लामो राजनीतिक अनुभव, संगठनप्रतिको अथाह प्रतिबद्धता र कार्यकर्तामैत्री नेतृत्व शैलीका कारण अधिकारी अहिले समग्र प्रदेशभरिका नेता र पार्टी समर्थकहरूबीच आशा र चर्चाको केन्द्र बनेका छन्।
नेकपा एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि मङ्सिर २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुँदैछ। यो महाधिवेशन नजिकिँदै गर्दा, लमजुङका कृष्णप्रसाद अधिकारीको उम्मेदवारीले गण्डकी प्रदेशको राजनीतिक समीकरणमा नयाँ तरङ्ग ल्याएको छ। उनको राजनीतिक यात्रा अनेरास्ववियुबाटै शुरु भएको हो ।
उनको अनुभव कानुनको वकालतदेखि स्थानीय सरकारसम्म फैलिएको छ। २०४४ सालमा नेपाल ल क्याम्पस, काठमाडौंमा विधि अध्ययनका लागि भर्ना भएदेखि नै उनी राजनीतिमा सक्रिय बने। २०५० देखि २०५४ सम्म सर्वोच्च अदालतसम्म अधिवक्ताका रूपमा काठमाडौंमा कार्य गर्दाखेरी देखि नै पार्टीको काममा गरेको समर्पण र लमजुङ जिल्लामा फर्केर लमजुङ्को राजनीतिमा गरेको दुख र मेहनतले उनको केन्द्रिय सदस्यको उम्मेदवारी चर्चामा आएको हो। त्यसपछि उनी २०५४ मा उदिपुर गा.वि.स अध्यक्ष, २०५६ मा क्षेत्रीय संयोजक र २०५९ मा तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक युवा संघको अध्यक्षजस्तो जिम्मेवार पदमा रहेर कार्य गरेका थिए।
संगठन सुदृढीकरणमा अधिकारीको योगदान निकै महत्वपूर्ण र ऐतिहासिक छ। २०६६ देखि २०७६ सम्म लगातार दुई कार्यकाल जिल्ला सचिव रहेर कुशल नेतृत्व दिए। जिल्ला अध्यक्ष हुँदा, २०७९ सालको स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिमा एकल बहुमत बनाएर उनले केन्द्रिय तहको समेत ध्यान खिच्न सफल भए। स्थानीय निर्वाचन-२०७९ मा देशभर जम्मा १४ जिल्लामा मात्र जिल्ला समन्वय समितिमा एकल बहुमत पुगेको अवस्थामा लमजुङ पनि एकल बहुमत पुर्याउने जिल्लामा पर्नु अधिकारी नेतृत्वको ऐतिहासिक उपलब्धि मानिन्छ। यसरी हेर्दा, अधिकारी पार्टीको लमजुङ नेतृत्वमा हुँदा संगठनलाई बलियो, चलायमान र सक्रिय बनाएकोले उनको नेतृत्वलाई कार्यकर्ताहरू अहिले पनि उदाहरणीय र अपरिहार्य मान्छन्।
पार्टी निर्माण र संगठन विस्तारलाई नै आफ्नो व्यक्तिगत पेसाभन्दा बढी प्राथमिकता दिने अधिकारीको यही 'समर्पित भावना' र इमानदार छवि का कारण उनी कार्यकर्ताहरूमाझ 'समर्पित, विश्वासिलो र काम गर्ने नेता'का रूपमा चिनिन्छन्।
राजनीतिक संघर्षलाई नजिकबाट भोगेका अधिकारीको नेतृत्व क्षमता निकै खरो र स्पष्ट छ। 'नदिमा सयौँ ठक्कर खाएको ढुङ्गा नै सालीग्राम बन्छ' भन्दै राजनीतिमा दृढताका साथ लागेका उनी सीधासादा, स्पष्ट वक्ता र निर्णयमा दृढ रहन्छन्। उनको यही नेतृत्व क्षमताका कारण उनी अहिले गण्डकी प्रदेशभर उदीयमान र चर्चित नेताको रूपमा चर्चाको शिखरमा छन्।
उपलब्धि दिलाएर पनि 'घेराबन्दी'मा:
पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद अधिकारीले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीलाई समानुपातिक मतमा लमजुङ्मा १ नम्बर पार्टी बनाएका थिए। तर, उनले पार्टीभित्रको लमजुङका 'हाइ प्रोफाइल' नेताको आशीर्वाद नपाएकै कारण प्रदेशसभा निर्वाचन २०७९ मा उपविजेता बन्न पुगे। प्रदेशसभामा समानुपातिकतर्फ पार्टीको ६ हजार मत बढी हुँदा पनि उनी पराजित हुनुलाई पार्टीभित्रको आन्तरिक घातको रूपमा लिइन्छ। यद्यपि, उनी उपविजेता बने पनि पार्टीलाई हार्न दिएनन् र प्रतिनिधि सभामा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्लाई भारी मतले विजयी गराउँदै स्थानीय तह र प्रदेश-संघको निर्वाचनमा पार्टीलाई जिताएर १ नम्बर बनाए।
नेकपा एमाले लमजुङ जिल्ला कमिटीका पूर्व सचिव सुबास पौडेलका अनुसार, "उहाँ जिल्ला अध्यक्ष हुँदा गरेको ऐतिहासिक उपलब्धिपछि पनि उहाँलाई हराउने खेल भयो। उहाँको हारसँगै नेकपा एमालेप्रति लमजुङ्मा जनताको ग्राफ ह्वात्तै घटेर गएको छ।" पौडेल थप्छन्, "उहाँ जिल्ला सचिव र अध्यक्ष हुँदा गरेको पार्टी संगठन विस्तार अहिले सम्झिँदा 'ऐतिहासिक छलाङ्ग' थियो। यसपाली त लमजुङका हाइ प्रोफाइलका नेताहरूले समेत कृष्णप्रसाद अधिकारीलाई कुनै पनि हालतमा 'हराउन नहुने' र सहयोग गर्नुपर्ने निष्कर्षमा पुग्नुपर्ने आम कार्यकर्ताको मनोविज्ञान रहेको छ।"
गृह जिल्ला लमजुङमा बलियो जनसम्बन्ध, वकालतको अनुभव, ऐतिहासिक संगठनात्मक सफलता, जनतामाझको बलियो लोकप्रियता र पार्टीभित्रको अपरिहार्यताले कृष्णप्रसाद अधिकारीलाई ११औँ महाधिवेशनमा केन्द्रिय सदस्यका बलिया र सफल दाबेदार बनाएको छ। उनको उम्मेदवारीलाई कार्यकर्ताहरूले 'संगठनलाई पुनः सुदृढ बनाउने एक महान अवसर´को रूपमा हेरेका छन्।