ऋषि धमला पत्नी एलिजा आजपाबाट समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा
काठमाडौँ — आम जनता पार्टी (आजपा)ले जेनजी आन्दोलनसँग सम्बन्धित युवाहरू, सहिद परिवार, सहकारी तथा लघुवित्त पीडितहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजपाले निर्वाचन आयोगमा समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको हो।
आजपाले पेस गरेको बन्दसूचीअनुसार पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम खस–आर्यतर्फको महिला समूहको पहिलो नम्बरमा रहेकी छन्।
पार्टीका सचिवालय सदस्य सुभाष साहका अनुसार जेनजी सहिद परिवारतर्फ जेनजी सहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी आन्दोलनका घाइते सञ्जिव सापकोटा तथा जेनजी प्रतिनिधिका रूपमा प्रतिमा थापामगर, मन्दिपकुमार लालसहित दर्जनौँ युवाहरूलाई उम्मेदवार बनाइएको छ।
आजपाले सहकारी तथा लघुवित्त पीडितहरूलाई पनि समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। लघुवित्त पीडित सङ्घर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव तथा सहकारी पीडित सङ्घर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ र रिता भट्टराई उम्मेदवार रहेका छन्। साथै लैङ्गिक अल्पसङ्ख्यक समुदायकी लक्ष्मी घलान र दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी पनि बन्दसूचीमा समावेश छन्।
मुस्लिम समुदायतर्फ लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर) र फरहत बाउन लगायतका उम्मेदवार रहेका छन्।
आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी समूह तथा सहकारी र लघुवित्त पीडित सङ्घर्ष समितिसहितका समूहहरूले आजपाको ‘मोबाइल’ चुनाव चिन्हमार्फत फागुन २१ गते हुने निर्वाचनमा संयुक्त रूपमा सहभागिता जनाउने जनाइएको छ।