गोवाको नाइट क्लबमा भीषण आगलागी : चार नेपालीसहित २५ जनाको मृत्यु
काठमाडौं । भारतको गोवा राज्यस्थित अरपोरा क्षेत्रको एक नाइट क्लबमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाले ज्यान गुमाएका छन्। घटनामा ६ जना घाइते छन्। मृत्यु भएकामध्ये २० जना क्लबका कर्मचारी रहेको र तिनीहरूमध्येकै चार जना नेपाली भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
हिन्दुस्तान टाइम्सका अनुसार मृत्यु हुने नेपालीहरू चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भएको पुष्टि भए पनि विस्तृत ठेगाना खुल्न बाँकी छ। गोवा सरकारले शव नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।
अधिकारीहरूका अनुसार नाइट क्लबमा भीडभाडका बीच इलेक्ट्रोनिक फायरक्राकर प्रयोग गर्दा अचानक आगलागी सुरु भएको हो। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्दा आगो तीव्र बनेर फैलिएको बताइन्छ।
क्लबका धेरैजसो मानिस भुइँतला र भान्सातर्फै थुनिएर ज्यान गुमाएका थिए। केही आगोले डढेर, केही भने धुँवामा निसासिएर मृत मिलेको गोवा प्रहरीले जनाएको छ। आगोका कारण ग्यास सिलिन्डर समेत विस्फोट भएकोले आगलागी अझै भयावह बनेको थियो।
घटनामा क्लबले आवश्यक सुरक्षा मापदण्ड नअपनाएको र अवैध रूपमा सञ्चालन भइरहेको प्रारम्भिक अनुसन्धानले देखाएको हो। घटनापछि नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यसैगरी, नियमविपरीत क्लबसञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, राज्यभर अनुमति बिना सञ्चालन भइरहेका नाइट क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने पनि उनले बताएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार नाइट क्लब अत्यधिक भीडिएको थियो र आगलागी सुरु भएको केही मिनेटमै पूरै संरचना जलेर नष्ट भएको थियो। यस घटनापछि गोवामा नाइट क्लबहरूको सुरक्षा प्रणालीबारे गम्भीर प्रश्न उठेको छ।
गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची