राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै जिल्ला न्यायाधीशहरूलाई अधिकृतमा नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते नामावली प्रकाशन, दाबी–विरोध र उजुरीको छानबिन हुनेछ। पुस २२ गते अन्तिम नामावली प्रकाशित गरिनेछ। पुस २३–२७ गतेसम्म उम्मेदवारको मनोनयन, विरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा हुनेछ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम आयोजना गरिनेछ भने सम्बन्धित मतदान केन्द्रमा बिहान ९ः० बजेदेखि दिउँसो ३ः० बजेसम्म मतदान हुनेछ। आगामी फागुन २० गते रिक्त १९ पदमा निर्वाचन सम्पन्न हुने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।