नेपाल–गुजरात भेटमा पर्यटन, जलविद्युत र सूचना प्रविधि क्षेत्रमा सहकार्यमा जोड
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलबीच शनिबार गान्धीनगरमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–गुजरातबीच पर्यटन प्रवर्द्धन, सूचना प्रविधि, जलविद्युत, उत्पादनमूलक उद्योग र शिक्षा क्षेत्रमा सम्भावित साझेदारीबारे विस्तृत छलफल भएको छ। राजदूत शर्माले गुजरातले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हासिल गरेको विकास र विश्वस्तरीय पर्यटन पूर्वाधारको प्रशंसा गर्दै नेपालले त्यस अनुभवबाट लाभ लिन सक्ने बताए।
मुख्यमन्त्री पटेलले गुजरातको औद्योगिक क्षमता मात्र नभई सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स र ग्लोबल क्यापेबिलिटी सेन्टरमा नेतृत्वदायी भूमिका रहेको जानकारी दिए। उनले स्ट्याच्यु अफ युनिटी र सोमनाथ–द्वारका जस्ता प्रसिद्ध तीर्थस्थलहरूले लाखौँ पर्यटक भित्र्याइरहेको उदाहरण दिँदै नेपालसँगको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने विश्वास व्यक्त गरे।
दुवै पक्षले सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन आदानप्रदान बढाउने सहमति पनि गरेका छन्।