रास्वपाको समानुपातिक बन्दसूचीप्रति डा. रामजी रामको असन्तुष्टि
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी रामले पार्टीले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र गरिएको आन्तरिक प्राइमरी इलेक्सनको औचित्य र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्। उनले लोकतान्त्रिक अभ्यासमा मतदाताको मतको सम्मान हुनुपर्ने उल्लेख गर्दै प्राइमरी इलेक्सनबाट अग्रस्थान हासिल गरेका व्यक्तिहरूलाई मतअनुसारको स्थान नदिइएको देखिएको बताएका छन्।
डा. रामले विशेषगरी दलित समुदायबाट सर्वाधिक मत ल्याएका विजय जैरुको नाम समानुपातिक बन्दसूचीमै नपरेकोप्रति आपत्ति जनाएका छन्। उनले पार्टीले प्राइमरी इलेक्सनलाई वास्तवमै उम्मेदवार छनोटको आधार मानेको हो वा होइन भन्ने विषयमा स्पष्टता माग गरेका छन्।
उनको भनाइमा, यदि रास्वपामा विधि, प्रक्रिया र सुशासनको अर्थ रहन्छ भने विजय जैरुलाई सम्मानसहित उचित स्थानमा राखिनुपर्नेछ। आफ्नो नाम सूचीमा रहँदा विजय जैरुको नाम सूचीमै नहुनुले आफूलाई लज्जाबोध भएको पनि उनले उल्लेख गरेका छन्।
यदि आफूलाई सूचीमा राखिएकै कारण विजय जैरु समावेश हुन नसकेको अवस्था हो भने आफू फरक भूमिकामा रहेर पनि देश र पार्टीका लागि न्याय र सुशासनको पक्षमा खबरदारी गर्न तयार रहेको डा. रामजी रामको भनाइ छ।
पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले मात्रै पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्ने उल्लेख गर्दै उनले नेतृत्वलाई निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन्।