त्रिविको ५१औँ दीक्षान्त समारोह भोलि, ८९ हजार बढी विद्यार्थी दीक्षित हुँदै
शीर्षक :
९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार त्रिपुरेश्वरस्थित रंगशालामा आयोजना हुँदैछ। यस वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुनेछन्।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्मको शैक्षिक सत्रमा विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित हुन लागेका हुन्।
दीक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३८० विद्यार्थीले औपचारिक आवेदन दिएका छन्। जसमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तर ४ हजार ८६०, दर्शनाचार्य १२० र विद्यावारिधि (पीएचडी) तहका १५२ जना छन्। साथै, २३ हजार ९८० अभिभावकले पनि सहभागिताका लागि आवेदन दिएका छन्।
विद्यार्थी र अभिभावक गरी करिब ५० हजारको हाराहारीमा उपस्थित हुने अनुमान त्रिविले गरेको छ। समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ।
दीक्षान्त समारोहको मुख्य आकर्षणका रूपमा जापानका नोबेल पुरस्कार विजेता भौतिकशास्त्री प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहनेछन्। त्रिविको दीक्षान्तमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेको विश्वविद्यालयले जनाएको छ।
समारोहको अध्यक्षता त्रिविका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन विशेष अतिथि रहनेछन् भने उपकुलपति प्रा. डा. दीपक आर्यालको पनि विशेष आतिथ्यता रहनेछ।