पाँच महिनामा बागमती प्रदेशको राजस्व सङ्कलन २३.८८ प्रतिशत मात्र
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
प्रदेश सरकारका अनुसार घरजग्गा रजिष्ट्रेशन र सवारी कर मुख्य आयस्रोत भए पनि अपेक्षित सङ्कलन हुन सकेको छैन। साउनदेखि मङ्सिरसम्म यी शीर्षकबाट लक्ष्यको २८.६३ प्रतिशत मात्र राजस्व उठेको छ। घरजग्गा रजिष्ट्रेशनबाट लक्ष्यको तुलनामा १ अर्ब ६६ करोड र सवारी करबाट २ अर्ब ९५ करोड रुपैयाँ सङ्कलन भएको छ।
मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र संघीय समानीकरण अनुदानतर्फ पनि लक्ष्यभन्दा कम रकम प्राप्त भएको प्रदेश सरकारको जनाएको छ। आर्थिक मन्दी, घरजग्गा तथा सवारीसाधन कारोबारमा कमी र जेनजी प्रदर्शनका क्रममा राजस्व सङ्कलन निकायमा भएको क्षतिका कारण राजस्व अपेक्षाअनुसार उठ्न नसकेको मन्त्रालयले जनाएको छ।