रास्वपाको समानुपातिक सूचीमा जिल्ला प्रतिनिधित्व असन्तुलित, चितवनको वर्चस्व
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा जिल्ला प्रतिनिधित्व असन्तुलित देखिएको छ। निर्वाचन आयोगमा सोमबार बुझाइएको विवरणअनुसार रास्वपाको समानुपातिक सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाइएको छ भने चितवन जिल्लाका उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढी छ।
रास्वपाको समानुपातिक सूचीमा चितवन जिल्लाबाट मात्रै २१ जना उम्मेदवार समावेश गरिएको छ। तर, देशका ७७ जिल्लामध्ये ४४ जिल्लाको नाम सूचीमा पूर्ण रूपमा नसमेटिएको देखिएको छ।
चितवनपछि दोस्रो धेरै प्रतिनिधित्व मोरङ जिल्लाबाट गरिएको छ, जहाँबाट १५ जना उम्मेदवार सूचीमा परेका छन्। त्यसैगरी सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट ५–५ जनाको प्रतिनिधित्व रहेको छ। ललितपुर र महोत्तरीबाट ४–४ जना तथा भक्तपुर र धनुषाबाट ३–३ जना उम्मेदवार सूचीमा समावेश छन्।
प्राप्त विवरणअनुसार ८ जना उम्मेदवारको नागरिकता जारी भएको जिल्लाको नाम सूचीमा उल्लेख गरिएको छैन। यसले समानुपातिक सूचीको पारदर्शिता र क्षेत्रीय सन्तुलनमाथि प्रश्न उठाएको छ।
प्रदेशगत रूपमा हेर्दा पनि सूची असन्तुलित देखिन्छ। रास्वपाको समानुपातिक सूचीमा कोशी प्रदेशका ४, मधेश प्रदेशका ३, बागमती प्रदेशका ७, गण्डकी प्रदेशका ७, लुम्बिनी प्रदेशका ८, कर्णाली प्रदेशका ७ तथा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाबाट प्रतिनिधित्व हुन सकेको छैन।
समानुपातिक प्रणालीको मूल मर्म समावेशिता र क्षेत्रीय सन्तुलन भए पनि रास्वपाको सूचीले सो उद्देश्य पूरा नगरेको भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।