सिनामंगलमा असईद्वारा आफ्नै चार महिनाको छोरामाथि हत्या, नागढुंगाबाट पक्राउ
२२ मंसिर, काठमाडौं । राजधानीको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाको छोराको हत्या गरेका छन्। छोराको हत्या गरी भाग्ने प्रयासमा रहेका कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। उनलाई हाल परिसरको हिरासतमा राखेर विस्तृत अनुसन्धान थालिएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले आफ्नै छोराको घाँटी थिचेर हत्या गरेको प्राविधिक तथा प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारको विषयमा कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद हुँदै आएको र सोही विवाद चर्कँदा हत्या घटना भएको प्रहरीले जनाएको छ।
घटनाको क्रममा कार्कीले श्रीमती कृष्णामाथि पनि कुटपिट गरेका थिए। प्रहरी जवान समेत रहेकी कृष्णा हाल उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।
दुवै दम्पती काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको खुलेको छ। घटना संदिग्ध र संवेदनशील भएकाले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।