कात्तिकमा बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा प्रवाहमा गिरावट
कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाह असोजको तुलनामा घटेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार कात्तिकमा कुल कर्जा ५६ खर्ब ४३ अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन असोजको तुलनामा ०.५१ प्रतिशतले कम हो।
त्यस्तै, कुल निक्षेप ७५ खर्ब २० अर्ब २४ करोड ९० लाख रुपैयाँमा सीमित भएर ०.०२ प्रतिशतले घटेको छ। बैंकिङ क्षेत्रको कर्जा-निक्षेप अनुपात ७५.०७ प्रतिशत रहेको छ।
समग्र निष्क्रिय कर्जा ५.२६ प्रतिशतमा पुगेको छ। वर्गगत रूपमा, वाणिज्य बैंकमा ५.०३%, विकास बैंकमा ६.०३% र वित्त कम्पनीमा १२.५२% निष्क्रिय कर्जा देखिएको छ।
क्षेत्रगत रूपमा वित्त, बीमा र घरजग्गा क्षेत्रमा कर्जा ३.१६% ले घटेको छ भने यातायात, सञ्चार र सार्वजनिक उपयोगिता क्षेत्रमा क्रमशः १.२०% र १.०४% ले कमी आएको छ।
उत्पादन क्षेत्रका कर्जा विश्लेषण गर्दा विपन्न वर्ग कर्जा ६.२२% ले घटेको छ। तर, बिल पर्चेज कर्जा ५.८२%, ट्रस्ट रिसिप्ट लोन र इम्पोर्ट लोन २.४५% ले वृद्धि भएको छ, जसले आयात व्यापारमा वित्तीय गतिविधि बढेको संकेत गर्दछ।
साथै, सुनचाँदी धितोमा ४.७४% ले वृद्धि, तर अग्नेस्ट ग्यारेन्टी तथा अन्तर्राष्ट्रिय बैंक ग्यारेन्टी अन्तर्गतको कर्जा क्रमशः ८.५७% र ५४.५९% ले घटेको छ।