युक्रेन संकट समाधानका लागि संवाद र वार्ता नै प्रभावकारी उपाय : चीन
बेइजिङ — युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता नै व्यवहारिक र प्रभावकारी उपाय भएको चीनले स्पष्ट गरेको छ।
मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानले उक्त धारणा सार्वजनिक गरेका हुन्। रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले युक्रेनले रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति निवासतर्फ रातारात ड्रोन आक्रमण गरेको दाबी गरेपछि यस विषयमा चीनको प्रतिक्रिया आएको हो।
प्रवक्ता लिनले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै युद्ध क्षेत्रको विस्तार नगर्न, लडाइँको तीव्रता नबढाउन तथा तनाव बढाउने कुनै पनि गतिविधिबाट टाढा रहन अनुरोध गरे। संकटको राजनीतिक समाधानका लागि तनाव न्यूनीकरण गर्दै अनुकूल वातावरण सिर्जना गर्नु आवश्यक रहेको उनले बताए।
चीनले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न कूटनीतिक संवाद र प्रयासलाई निरन्तर समर्थन गर्दै आएको पनि उनले स्पष्ट पारे।