मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजना शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसिङले जामुनेदेखि पोखरासम्म पर्ने पश्चिम खण्डको आज स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै निर्माण कार्य पूरा गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा उनले पश्चिम खण्डअन्तर्गत हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजनाअनुसार पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत पुगेको छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर लामो उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ। जसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र ७ दशमलव ७९ किमीमा दुई लेन कालोपत्र गरिएको छ।
उक्त खण्डमा निर्माणाधीन १२ पुलमध्ये ११ पुल सम्पन्न भइसकेका छन् भने सेती नदीमा एक पुल निर्माणको काम जारी छ। गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य लिइएकामा २३ दशमलव ०६ किमीमा कालोपत्र सम्पन्न भएको आयोजना प्रमुख कुँवरले जानकारी दिए।
त्यस्तै, ६६ वटा कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ वटा निर्माण सम्पन्न भएका छन्। साथै ५१ दशमलव ५ किमी नाला निर्माण गर्ने लक्ष्य लिइएकामा ४५ दशमलव २ किमी नाला निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ जेठ ३ गते सात अर्ब ४० करोड रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।