रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा
काठमाडौं — नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ।
गत असार २४ गते चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनबाट आएको बाढीले आयोजनाको बाँध र हेडबक्समा ठूलो क्षति पुर्याएको थियो। मर्मतपछि नदीबाट पानी पथान्तरण गरी विद्युतगृहका तीन युनिटमध्ये एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन सुरु गरिएको छ। बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना रहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयासपछि आयोजनालाई सञ्चालन योग्य बनाइएको हो।
बाढीले हेडबक्स क्षेत्रमा काठ, झार, बोटबिरुवा रोक्ने मेसिन र गेटलगायतका उपकरण बगाएको थियो। हेडबक्स भवनमा दुई मिटरभन्दा बढी लेदो जम्मा भएको थियो। सो दिन आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो।
आयोजनाले १६ पुस २०८१ देखि व्यवसायिक विद्युत उत्पादन गर्दै आएको थियो। आयोजनाबाट पूर्णरुपमा सञ्चालनमा आएपछि वार्षिक ६१ करोड ३८ लाख युनिट विद्युत उत्पादन हुनेछ र यसबाट कम्पनीलाई वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ।