गौतमबुद्ध क्रिकेट रङ्गशालाको भुक्तानी सहजीकरणका लागि भरतपुर टोली काठमाडौँ पुगे
भरतपुर महानगरपालिकाको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी सहजीकरणका लागि काठमाडौँ पुगेको छ। टोलीमा प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल रहेका छन्। उनीहरूले प्रधानमन्त्री, अर्थ मन्त्री, युवा तथा खेलकुद मन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भेटेर रङ्गशालाको रकम भुक्तानी छिटो सम्पन्न गर्न सहजीकरणको अनुरोध गर्ने छन्।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरी बीचमै छोडेको रङ्गशालाको भुक्तानीमा कानुनी बाधा परेका कारण फाउण्डेशनले रकम पाउन सकेको छैन। सङ्घीय सरकारले रु १५ करोड बजेट छुट्याए पनि सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न सकिने भएकाले भुक्तानी प्रक्रियामा ढिलाइ भएको हो। फाउण्डेशनले निर्माण छोडेपछि रङ्गशालाको जिम्मेवारी भरतपुर महानगरलाई हस्तान्तरण भएको थियो। हालसम्म ४५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ र फाउण्डेशनले रु ५७ करोड १२ लाख बराबरको काम गरेको दाबी गरेको छ, जसमा रु १८ करोड ४३ लाख उधारो रहेको छ।