आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर जनवरी ५ देखि ७ सम्म नेपालमा
काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै ट्रफी टुरको विस्तृत विवरण, कार्यक्रम तालिका, स्थान तथा विभिन्न गतिविधिबारे जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ।
ट्रफी टुरका क्रममा नेपाली क्रिकेट प्रेमीहरूले टी–२० विश्वकपको ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्।
यसअघि सन् २०१८ मा नेपालमा ओडिआई विश्वकपको ट्रफी ल्याइएको थियो। त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शन गरिएको थियो। टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो।
डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुरको सुरुआत गरिएको क्यानले जनाएको छ।