महाधिवेशन बिथोल्ने उद्देश्यले सडक बन्द गरियो : बस्नेतको आरोप
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पार्टीको ११औं महाधिवेशन बिथोल्ने उद्देश्यले नागढुंगा–नौबीसे सडक बन्द गरिएको आरोप लगाएका छन्। सरकारले मंसिर २४ देखि पुस १ गतेसम्म पोखरेभीर क्षेत्रमा सडक चौडा गर्ने कामका नाममा नागढुंगादेखि पिप्लामोडसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेपछि बस्नेतले यसलाई ‘गलत उद्देश्यप्रेरित’ कदम भनेका छन्।
बस्नेतका अनुसार मंसिर २७ देखि २९ गतेसम्म हुन लागिरहेको एमाले महाधिवेशनलाई प्रभाव पार्ने नियतले यस्तो निर्णय गरिएको हो। उनले यो कदम प्रतिशोधपूर्ण रहेको आरोप लगाउँदै सरकारले निर्णय तुरुन्त फिर्ता लिएर पुस पहिलो हप्तादेखि मात्र काम सुरु गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले ‘प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ’ भन्दै सरकार र मन्त्री घिसिङलाई चेतावनीसमेत दिएका छन्।