समानुपातिक बन्दसूची बुझाउने दल पाँच पुगे
१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या पाँच पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ ।
राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा जुटिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी तथा नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन् ।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिकतर्फ १ सय १०–१ सय १० जना उम्मेदवारको सूची बुझाएका छन् ।
त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले जनही १२–१२ जना उम्मेदवारको सूची बुझाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेको छ ।
आज अन्तिम दिन भएकाले अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोगमा पुग्ने क्रम जारी रहेको छ ।