नयाँ वर्ष २०२६ को स्वागतमा पोखरा झकिझकाउ, लेकसाइडमा २७औँ सडक महोत्सव
पोखरा — सन् २०२५ बिदा हुँदै गर्दा सारा विश्व सन् २०२६ को स्वागतको तयारीमा जुटेको छ। पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरा पनि यतिबेला नयाँ वर्षको उल्लासमा रंगिएको छ। विशेषगरी लेकसाइड क्षेत्र रंगीचंगी तुल, ध्वजापताका र स्वागतद्वारले सिँगारिएको छ भने अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सडक महोत्सवले यहाँको वातावरण थप चहलपहलयुक्त बनेको छ।
लेकसाइडका पसल तथा रेष्टुराँबाट निस्कने सङ्गीतका मधुर धुनसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बाक्लिएको छ। सडकछेउका अस्थायी व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड देखिन्छ भने मौलिक झाँकी, नृत्य तथा साङ्गीतिक कन्सर्टमा पर्यटक रमाइरहेका छन्।
लेकसाइडको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आइतबारदेखि सुरु भएको सडक महोत्सव बिहीबारसम्म चल्ने रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको यो महोत्सव २७औँ संस्करणमा प्रवेश गरेको छ। यस वर्ष महोत्सवमार्फत करिब पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताए।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवलाई उनले सम्पूर्ण पर्यटन व्यवसायी र पोखरेलीहरूको साझा उत्सवका रूपमा व्याख्या गरे। “संस्कृति र सङ्गीतको संयोजन गरिएको यो महोत्सवले मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ,” उनले भने।
नयाँ वर्षको स्वागतका लागि बुधबार राति पोखराको गोमागाने पार्कमा विशेष साङ्गीतिक उत्सव आयोजना गरिएको छ। उक्त कार्यक्रममा डी–मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत पोखराली ब्यान्डहरूको प्रस्तुति रहनेछ। महोत्सव अवधिभर हस्तकला सामग्री, कृषि उपजको बिक्री तथा प्रदर्शन, पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी पनि सञ्चालन भइरहेको छ।
सबै उमेर समूहलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक गतिविधि र खेलकुद प्रतियोगिता आयोजना गरिएका छन्। सिन्धुलीको पञ्चेबाजा, थारू नाच, गुरुङ र मगर समुदायका सांस्कृतिक नृत्य तथा गीतले महोत्सवलाई थप मौलिक बनाएको छ। सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरूसहित सडक बहससमेत गरिएको थियो। वेटर्स दौड, डुङ्गा दौड जस्ता प्रतियोगिताले दर्शकको ध्यान आकर्षित गरेका छन्। आज ल्होसार विशेष कार्यक्रमका साथै साँझ स्वप्न सुमन र केहर एन्ड द लुङ्गा ब्यान्डको प्रस्तुति रहनेछ। बुधबार मध्यरातमा विशेष साङ्गीतिक उत्सवसहित सन् २०२६ लाई औपचारिक रूपमा स्वागत गरिनेछ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरा पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका अधिकांश होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ छन्।
हाल पोखरामा एकै रातमा करिब ४० हजार पर्यटकलाई बसोबास गराउन सक्ने होटल संरचना रहेको छ। सडक महोत्सवलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा सञ्चालन गरिएको छ भने लेकसाइडका डिस्को, बार र क्लबहरू चौबिसै घण्टा खुला गरिएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाएको बताए। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले यस्ता उत्सवहरूले पर्यटन प्रवद्र्धनसँगै आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। “पर्यटन फस्टायो भने आर्थिक अवसर सिर्जना हुन्छ, पोखराको आर्थिक रुपान्तरणको प्रमुख आधार नै पर्यटन हो,” उनले भने।