विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबारदेखि सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले गोष्ठीको उद्घाटन गर्दै निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताएका छन्।
उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले निर्वाचन नहुँदा देश थप अस्थिरतातर्फ धकेलिन सक्ने उल्लेख गर्दै सुशासनका लागि निर्वाचनको विकल्प नरहेको बताए। उनले फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको र निर्वाचन सम्पन्न गराउन सरकार दृढताका साथ अघि बढेको स्पष्ट पारे।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आसन्न निर्वाचन सम्पन्न गर्न केही बाधा र अड्चन भए पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए।
सुरक्षा गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरू तथा प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको छ। गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनका क्रममा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक रणनीति तय गर्ने जनाइएको छ।