काठमाडौँका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ — काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा चालक अवि श्रेष्ठको मृत्यु भएको हो। रामेछापको खाँडादेवी गाउँपालिका–३ निवासी श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा अर्को दुर्घटना भएको छ। उक्त दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ निवासी ३० वर्षीय दीपक बजगाईँको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते बजगाईँलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।