चितवनका माओवादी कार्यकर्ता ‘प्रगतिशील राष्ट्रिय अभियान’मा समाहित
चितवन — नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरू प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका छन्। आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले कम्युनिस्ट एकतामा सहभागी नबई देश, जनता र वर्तमान युगबोधअनुसार नयाँ ढङ्गले राजनीतिक पुनर्गठन गर्न अभियान रोजेको बताएका हुन्।
प्रगतिशील राष्ट्रिय अभियान चितवन अध्याय घोषणा गर्दै संयोजक दीपक शाहीले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र व्यक्तिवादी निरंकुश केन्द्रीकरण अन्त्य अभियानका मुख्य उद्देश्य रहेको बताए। उनले जनताद्वारा जनतामाथि चल्ने विशुद्ध जनवादी संरचना तथा शासन प्रणाली निर्माण अभियानको मूल लक्ष्य हुने उल्लेख गरे।
अभियानमा समाहित नेता सुदर्शन पौडेलले जेन–जी आन्दोलनपछि पनि दलहरू सच्चिने संकेत नदेखिएपछि एकता प्रक्रियाबाट अलग भएको बताए। उनका अनुसार राजनीतिक परिवर्तन भए पनि जनताको समस्या समाधान हुन नसकेपछि जेन–जी विद्रोह हुन पुगेको हो, र सबैले त्यसको भावना आत्मसात् गर्नुपर्ने आवश्यकता अझ बढेको छ।
कार्यक्रममा उपस्थित अन्य नेताहरूले देशलाई जनताको चाहनाअनुसार रूपान्तरण गर्न प्रगतिशील राष्ट्रिय अभियानलाई साथ दिन सबैमा आह्वान गरे।