गृहमन्त्री अर्यालद्वारा थानकोट–नागढुंगा प्रहरी कार्यालयको निरीक्षण
काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार प्रहरीले पुनर्स्थापना गरेका दुई महत्त्वपूर्ण सुरक्षा संरचना—प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन्। भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले दुवै कार्यालयमा आगजनी गरेपछि पुनर्निर्माण तथा मर्मतकार्य पूरा गरी पुनः सेवा सञ्चालन गरिएको हो।
थानकोट वृत्तको भवन उद्घाटन भएको नौ दिन नबित्दै आन्दोलनकारीले आगजनी गर्दा संरचनामा व्यापक क्षति भएको थियो। भवनको नवनिर्माण उद्घाटन तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा गरेका थिए।
निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी, काठमाडौँ प्रहरीका एसएसपी रमेश थापा तथा थानकोट प्रहरी वृत्तकी डीएसपी एलिजा गिरीलगायतको सहभागिता थियो। डीएसपी गिरीले प्रदर्शनका क्रममा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा तथा सवारीसाधन जोगाउन सफल भएको विवरण प्रस्तुत गरिन्।
निरीक्षणपछि गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासन सुविधालाई अन्य सुरक्षा निकायको स्तरमा लैजाने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले आन्दोलनका क्रममा प्रहरी कर्मचारीले बेहोर्नुपरेका व्यक्तिगत सामग्री नोक्सानीबारे समेत अभिलेख संकलन भइरहेको र यसको व्यवस्थापनबारे अन्तिम निर्णयका लागि छलफल जारी रहेको बताए।
सरकार सुरक्षासम्बन्धी पूर्वाधार, मनोबल र क्षतिपूर्तिमा संवेदनशील रहेको बताउँदै गृहमन्त्री अर्यालले यस्ता घटनाबाट सुरक्षा संरचनालाई थप सुदृढ बनाइने धारणा व्यक्त गरे।