लमजुङमा ५० मेगावाटको मर्स्याङ्दी बेसि जलविद्युत् आयोजनाविरुद्ध स्थानीयको सशक्त बिरोध
लमजुङ, कात्तिक २६
लमजुङको सदरमुकाम बेसीशहर नजिकै ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसि जलविद्युत् आयोजना’ अचानक र गोप्य रूपमा सुरु भएपछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन्। पहिले दीपज्योति हाइड्रोपावरको काम रोकिएपछि सोही स्थानमा फेरि नयाँ नामबाट काम अघि बढाएपछि स्थानीय समुदाय पुनः आक्रोशित बनेका हुन्।
बिरोध स्वरुप जेन- जी लमजुङ र स्थानिय युबाहरुले २०७२ कार्तिक २७ गते बिहीबार बिहान ११:३० बजे लमजुङ उद्योग वाणिज्य संघको सभाहलमा जलविद्युत आयोजना, यसको सम्भावित प्रभाव, वातावरणीय असन्तुलन र बेसीशहरको सौन्दर्यमाथि पर्न सक्ने असरबारे व्यापक छलफल तथा ध्यानाकर्षण कार्यक्रम आयोजना हुने भएकोले कार्यक्रममा बेसीशहर नगरपालिका वडा नं. ०२, ०३, ०६, ०७, ०८, ०९ र १० का स्थानीय बासिन्दाहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ।
गोप्य रूपमा काम सुरु र स्थानीयको कडा आपत्ति
आयोजनाको निर्माण एशियन पावर पार्टनर्स प्रालि (APP) ले बेसीशहर नगरपालिका-६ बेलौती बिसौनीदेखि नगरपालिका-१० सालडाडासम्म फैलिएको क्षेत्रमा गर्दैछ। स्थानीय बासिन्दाहरूले कम्पनीले १८ वर्ष पुरानो स्वीकृत योजनालाई स्थानीय निकाय र सरोकारवालालाई कुनै जानकारी नै नदिई अघि बढाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, कुनै सार्वजनिक सुनुवाइ वा वातावरणीय प्रभाव मूल्यांकन (EIA) को पारदर्शी प्रक्रिया बिना नै निर्माण कार्य अघि बढाइएको छ। युवाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार 'पूर्व जानकारी सहितको स्थानीय मञ्जुरी' लिनुपर्ने माग समेत अघि सारेका छन्।
पर्यावरणीय सन्तुलन र पानीको गम्भीर संकटको भय
स्थानीयहरूले पहिले नै सञ्चालित मध्य मर्स्याङ्दी र
माथिल्लो मर्स्याङ्दी आयोजनाका कारण नदी बग्ने क्षेत्रमा सुख्खा हुँदा त्यहाँका थुप्रै भाग मरुभूमि जस्तो बनिसकेको अनुभव सुनाएका छन्। अब फेरि बाकी रहेको थोरै बीचमा अर्को आयोजना थपिँदा मर्स्याङ्दी नदीको पारिस्थितिक प्रणालीमा गम्भीर र अपूरणीय क्षति पुग्ने उनीहरूले बताएका छन । पहिलेनै सम्पन्न भएकोे मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाले बेसीशहर नजिकैका उदिपुर, चिती, रामचोक भुभागमा परेका असरहरुबारे स्थानीयहरु परिचीत भइसकेका छन । हाल सुरु गरिएको आयोजनाले बेसिसहर, भकुण्डे, भाचोक लगायतका बस्तीहरूमा पानीको आपूर्ति र कृषि प्रणाली दुवै प्रभावित हुने देखिएको छ। भाचोक खोलो हिउँदमा सुक्ने र बेसीशहरको फोहोरको ब्यबस्थापन र गङ्गा स्नानका लागि पानीको विकल्प नै मर्स्याङ्दी नदी भएकोले आयोजना बनेपछि फोहोर बगाउने पानीदेखि खेत सिँचाइसम्म ठूलो समस्या हुने जनचासो बढेको छ। बजार क्षेत्रमा करिब १० हजार जनसंख्या रहँदा पनि पानीको स्रोत अभाव देखिएको बेला भविष्यमा जनसंख्या ५० हजारदेखि १ लाख पुगेमा मर्स्याङ्दी नै मुख्य पानीको स्रोत बन्ने बताइएको छ। त्यसैले, नदीको पानी कटान हुँदा सम्पूर्ण कृषि, पशुपालन र जनजीवन पिडादायी बन्ने स्थानीयहरूको ठहर छ।

सदरमुकामको सौन्दर्यमाथि असर र 'थोरै फाइदा, मानबिय रुपमा विशाल हानि'
स्थानीय स्रोतका अनुसार, यो आयोजनाबाट लाभार्थीका रूपमा झण्डै ७० रोपनी जग्गाधनी मात्र लाभान्वित हुनेछन्, तर २ लाख रोपनीभन्दा बढी क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान छ। यसले थोरै लाभ, ठूलो क्षतिको अवस्था सिर्जना गर्ने भन्दै स्थानीय र सरोकारवालाहरूले परियोजना पुनः मूल्यांकन गर्न माग गरेका छन्।
आयोजनाको निर्माणका क्रममा सुरुङ खन्ने, ढुवानी, माटो र ढुंगामाटोको कामका कारण बेसीशहर बजार क्षेत्रमा धुलो, कम्पन, आवाज र फोहोर व्यवस्थापनको समस्या बढ्दै जाने अनुमान छ। स्थानीयहरूका अनुसार, यसले सदरमुकामको सौन्दर्य मात्र होइन, जनजीवन र स्थानीय व्यवसायहरूमा पनि प्रत्यक्ष असर पार्नेछ।
‘Save the Marsyangdi’ अभियान र सरकारको ध्यानाकर्षण
जेन-जी लमजुङ र बेसीशहरका युवाहरूले “Save the Marsyangdi, Save the Nature” नामक अभियान सुरु गर्दै सामाजिक सञ्जालमार्फत सशक्त विरोध अभियान थालेका छन्। उनीहरूले कम्पनीलाई तत्काल निर्माण कार्य रोक्न माग गर्दै चेतावनी दिएका छन् । स्थानीयवासीहरूले विकासका नाममा वातावरणीय विनाश स्वीकार्य नहुने भन्दै ऊर्जा विकास विभाग र सम्बन्धित बिभागहरुलाई आयोजना स्वीकृति प्रक्रियामा पारदर्शिता अपनाउन आग्रह गरेका छन्। स्थानियले जलविद्युत् विकासले स्थानीय सरोकार र वातावरणीय सन्तुलनलाई बेवास्ता गरे भने त्यसले दीर्घकालीन रूपमा राष्ट्रकै क्षति निम्त्याउने हुँदा सरोकारवाला निकायले बेवास्ता गरे कडा सडक आन्दोलनमा उत्रन सक्ने चेतावनी दिएका छन ।
