काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना
काठमाडौं, असार ३२ — काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को आयोजनामा बिहीबार कमलादीदेखि टुँडिखेलसम्म श्री जगन्नाथ रथयात्रा निकालिएको हो।
रथयात्राका क्रममा भक्तजनहरूले भगवान्को नाम कीर्तन गर्दै पूजा–आराधना र उत्सव मनाएका थिए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस यात्रामा ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको थियो।
श्री जगन्नाथ रथयात्राको मुख्य आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउनु हो। यो परम्परा धार्मिक आस्था र सांस्कृतिक सम्पदासँग जोडिएको ऐतिहासिक अभ्यासका रूपमा लिइन्छ।