अफताब आलमको निधनमा कांग्रेसद्वारा तीन दिन झण्डा आधा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय बैठकले शोक प्रस्ताव पारित गर्दै कात्तिक २२, २३ र २४ गते देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाइने निर्णय गरेको हो।
बैठकले कात्तिक २३ गतेका लागि पार्टीको केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्ला कार्यालयसम्म बन्द राख्ने निर्णय समेत गरेको छ।
केन्द्रीय सदस्य आलमको शुक्रबार राति काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनले पार्टी र देशले एक समर्पित नेताको असामयिक क्षति बेहोर्नु परेको नेपाली कांग्रेसले जनाएको छ।
पार्टीका शीर्ष नेताहरूले आलमको राजनीतिक योगदान स्मरण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।