महाधिवेशन विवाद मिलाउन कांग्रेस कार्यसम्पादन समिति बैठक आज
काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति निर्धारणलाई लिएर बढ्दै गएको विवाद समाधान गर्न आज कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठक आज दिउँसो १ बजे ललितपुरको धोविधाटस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकको एजेन्डा महाधिवेशनसम्बन्धी विवाद समाधानका उपाय खोज्नेमा केन्द्रित रहनेछ।
कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय टुंग्याउन असोज २८ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ। कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए भने त्यसै दिन सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७–३० गते महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए।
थापाको प्रस्तावलाई इतर समूहका नेताहरूले र यादवको प्रस्तावलाई संस्थापन पक्षले समर्थन गरेपछि विवाद चुलिएको छ। बिहीबारसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले धारणा राखे पनि दुई धारबीच सहमति नजुटेपछि आजको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरी शनिबार फेरि बस्न बोलाइएको छ।
यसैबीच, महामन्त्री थापाले बिहीबारको बैठकमा मंसिर २७ गते विशेष महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन्। विशेष महाधिवेशन माग गर्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन्।