काठमाडौँमा शाही युवाशक्ति नेपालको प्रदर्शन, ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ’ नारा
काठमाडौँ, (२०७८ कात्तिक २२) ।शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले शनिबार काठमाडौँमा ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने मुख्य नारासहित प्रदर्शन गरेको छ।
सङ्गठनले सामाखुसीदेखि वनस्थलीसम्म र्याली निकाली सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो। सामाखुसीबाट सुरु भएको र्याली सोरखुट्टेतर्फ अघि बढ्दै गर्दा प्रहरीले रोकेपछि प्रदर्शनकारीहरूले बाटो परिवर्तन गरी वनस्थली पुगेका थिए।
वनस्थली पुगेर उनीहरूले सभा गरी वर्तमान सरकारको नेतृत्वमाथि तीव्र विरोध जनाएका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै राजसंस्था पुनःस्थापनाको मागसमेत गरेका थिए।
शाही युवाशक्ति नेपालले हाल देशमा बढ्दै गएको राजनीतिक अस्थिरता र भ्रष्टाचारको अन्त्यका लागि राजसंस्था पुनःस्थापना नै समाधान हो भन्ने दाबी गरेको छ।
चोकचोकमा प्रहरीको कडा निगरानी रहेको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताइएको छ।