‘कोप’ का वेबसाइटमै कार्बन उत्सर्जनको विस्फोट
विश्वभर जलवायु संरक्षणका लागि आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कन्फ्रेन्स अफ द पार्टिज’ (कोप) का वेबसाइट स्वयं बढ्दो कार्बन उत्सर्जनको स्रोत बनेका छन् भन्ने नयाँ अध्ययनले पत्ता लगाएको छ।
बेलायतको युनिभर्सिटी अफ एडिनबराका अनुसन्धानकर्ताले ‘प्लोस क्लाइमेट’ मा प्रकाशित अध्ययनमा १९९५ देखि २०२४ सम्म कोप वेबसाइटहरूको डिजिटल कार्बन उत्सर्जन १३ हजार प्रतिशतभन्दा बढी बढेको उल्लेख गरेका छन्। वेब आर्काइभको विश्लेषणबाट प्रारम्भिक वर्षका वेबसाइट हल्का भएको र एउटा पेजले औसत ०.०२ ग्राम कार्बन उत्सर्जन गर्थ्यो, तर २००९ पछि वेबसाइट आकार तीव्रगतिमा बढ्दै २०२४ मा कोप–२९ को एक पेजबाट करिब २.४ ग्राम उत्सर्जन हुने देखिएको छ, जुन सामान्य वेबसाइटभन्दा सात गुणा धेरै हो। १९९७ मा कोप–३ वेबसाइटबाट ०.१४ किलोग्राम कार्बन मात्र उत्पन्न भए पनि २०२४ मा यो मात्रा ११६.८५ किलोग्राम पुगेको अध्ययनले देखाएको छ।
उच्च–रेजोल्युसन सामग्री, आधुनिक फ्रेमवर्क, नवीकरणीय ऊर्जामा नचल्ने सर्भर र बढी ट्राफिकलाई प्रमुख कारण मानिएको छ। अनुसन्धानकर्ताले वेबसाइट हल्का बनाउने, अनावश्यक भिजुअल सामग्री हटाउने, नवीकरणीय ऊर्जामा आधारित सर्भर प्रयोग गर्ने तथा नियमित रूपमा डिजिटल कार्बन फुटप्रिन्ट मापन गर्ने सुझाव दिएका छन्।