साइबर ठगीमा तीन जना पक्राउ
काठमाडौं, कार्तिक २१ – सामाजिक सञ्जालमा देखिने आकर्षक बैंक बोनस लिंकमार्फत ठगी गर्ने गिरोहका तीन जना नेपाल प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४० वर्षीय राजन गिरी, काठमाडौं बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकन्द्री र भारत बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्। उनीहरू फेसबुकमा बैंकसँग सम्बन्धित 'सर्भे लिंकमा क्लिक गरी बोनस पाउनुहोस्' जस्ता विज्ञापन पोस्ट गरेर प्रयोगकर्ताको खाताबाट रकम ठगी गर्ने गरेका थिए।
पक्राउको क्रममा प्रहरीले नगद, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्ड बरामद गरेको छ। तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले सामाजिक सञ्जालका शंकास्पद लिंकमा क्लिक नगर्न सबैलाई अनुरोध गरेको छ।