नेपाल ट्रस्टका पूर्व सहसचिव कार्कीलाई थप ८ दिन हिरासतमा राख्ने अनुमति
काठमाडौँ, २३ कात्तिक – नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई अदालतले थप ८ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि यस्तो निर्णय गरेको हो।
६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् र चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन्। उनलाई शुक्रबार चितवनबाट पक्राउ गरी दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनुसन्धान सुरु गरिएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीका अनुसार, नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बदनीयतका साथ ३० वर्षका लागि लिजमा दिइएको पाइएपछि ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको हो। प्रहरीले कार्कीलाई संस्थालाई नोक्सानी पुग्नेगरी जग्गा सम्झौता दिएको आरोपमा पक्राउ गरेको जनाएको छ।